कञ्चनमणि दीक्षित

आज हामीलाई फेरि समयले कोरोना सङ्क्रमणको अर्को सँघारमा ल्याएको छ । सबैको मुख निन्याउरो छ, मानाँै सबैमा श्री नै गुमेको छ । कोही खुसी देखिँदैनन् । गत वर्षले तहसनहस पारेको हाम्रो अर्थतन्त्र, भर्खरै बामे सर्दै अगाडि लम्केको मात्र के थियो, कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनले फेरि आफ्नो चपेटामा ल्याएको छ । यस्तो अवस्थामा नेताहरूबीच भने जुवारी चलेको छ । खुट्टा तान्न र सडकमा एकअर्कालाई नाङ्गो पार्न लागिपरेका छन् उनीहरू । मुलुकको अर्थतन्त्र ध्वस्त भइसकेको छ, नागरिक निराश छन्, बस उनीहरूलाई रमाइलो भइरहेको छ जुवारी खेल्न ।

अर्कातिर, ट्रान्सपरेन्सी इन्टरनेसनलको अध्ययनले देखाएको विवरणअनुसार नेपालमा भ्रष्टाचारको स्थितिकै कारण हामी कता पुग्दैछौँ भन्ने कुरा व्याख्या गर्नु पर्दैन । सबैलाई थाहा छ, हामी कस्तो अवस्थामा छौँ । ओमिक्रोन पहिलाको कोरोनाजस्तो खतरा छैन । मानिस मर्ने होइन रहेछ । अस्पतालसम्म मात्र पु-याउँछ रे । यस्ता कुरा अहिले यत्रतत्र सुन्नमा आउँछ । यसरी रेको पछि लाग्नुभन्दा पहिला कोरोना लागेर अस्पताल भर्ना हुनेलाई सोधौँ कति उराठलाग्दो र डरलाग्दो छ कोरोना भनेर । आईसीयु भर्ना भएर आएका बिरामीलाई सोधौँ, अस्पताल पुग्नु भनेको के हो ? गत साल पङ्क्तिकारले कोरोनालाई नजिकबाट हेर्नै मौका पाएको थियो । केही दिन अस्पतालमा बिताउनु परेको थियो भने आफन्त र प्रियजन गुमाउनुपरेको थियो । त्यसैले पनि ज्यादै पीडादायक छ यो कोरोना ।

भारतमा त कोरोना बढेको बढेकै छ अब हामी कहाँ आउन कति बेर पनि लाग्दैन भन्दाभन्दै आफ्नै घरअगाडि आएर बसेको हामीलाई हेक्कै भएन । नेपाल भारतका सिमानामा नेपाली मजदुरको ताँती लागेको छ । उनीहरूको आफ्नै पीडा छ, जहान परिवारलाई केही मिठो खुवाउन, राम्रो शिक्षा दिन र राम्रो लुगा लगाउन विदेशिएका युवायुवती कोरोनाका कारणले नेपाल फर्कन बाध्य छन् । नेपालमा कोरोनाको सङ्क्रमण उक्लँदो छ भने नेपाल–भारत सिमानामा आजसम्म खुला आवतजावत छ । भारतमा बढेपछि सिमाना व्यवस्थापन हुनुपर्ने थियो तर यसो भइराखेको छैन ।

हिजो मात्रै नेपाल सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेछ । विचरा विद्यार्थी, बल्ल स्कुल कलेज गएर रमाउन मात्रै के थालेका थिए, फेरि घरको कोठामा सीमित हुन पुगे । एकजना अभिभावक आफ्नो व्यथा सुनाउँदै थिए– विद्युतीय कक्षाले त हाम्रो छोराको भविष्यनै गोलमाल होलाजस्तो छ । जति बेला हे-यो हातमा मोबाइल नै हुन्छ । पढ्दै छु भन्छ, पढेको हो कि गेमको लत लागेको हो पत्तै पाउन सकिन्न । यस्तै भनाइ अरू अभिभावकको पनि छ । आफ्ना नानीहरूमा रिस बढेको, एकलकाटे भएको र डिप्रेसनको खतरातिर बढेकाले त्रासमा छन् अभिभावक ।

किसानलाई एक पटक हेरौँ । उनीहरूको बेहाल छ । गत अक्टोबर महिनामा आएको बाढीले सबै प्रदेशमा गरेको धान र अरू बालीनाली नष्ट हुँदा मर्कामा परेका किसान फेरि कोरोनाले थला पर्ने अवस्थामा पुगेका छन् । त्यस्तै भर्खरै माथि उठ्न थालेका उद्यमीलाई यसले धेरै नै पिरोल्ने देखिन्छ । बैङ्कको सापटी तिर्न धौ धौ परेका उद्यमी यसपालि लकडाउन भएमा माथि उठ्न नसक्ने गरी थलिने बताउँछन् ।

नेपाल भौगोलिक हिसाबले अति जोखिममा छ । बाढी, पहिरो र अरू विपद्ले बर्सेनि हजारौँ मानिस हाताहात र करोडौँ रुपियाँको नोक्सानी हुन्छ । जलवायु परिवर्तनले ठूला ठूला विपत्ति निम्त्याउने अध्ययनले देखाइसकेका छन् । यी त हुन् प्राकृतिक विपद् जसको नियन्त्रण हाम्रो हातमा छैन तर हामीले यस्ता विपद्लाई राम्रोसँग बुझी व्यवस्थापन गर्न सके क्षति तथा नोक्सानी कम हुने गर्दछ । कोरोनाले पनि चाहे जस्तो स्वरूप फेरेर आए पनि हामीले यसलाई राम्रोसँग व्यवस्थापन गर्नसके यसले पार्ने प्रभाव कम गर्न सक्छौँ । कोरोना व्यवस्थापनमा अग्रपङ्क्तिमा हुनुपर्ने नेपाल सरकार नै यसको सही व्यवस्थापनमा चुकेको छ । कोरोनाले समय समयमा ताण्डव मच्चाउँदा दुई वर्षमा सबैले खोप पाउनुपर्ने हो तर अहिलेसम्म जम्मा दुई करोड ५२ लाख ७५ हजार दुई सय ५४ खोप लगाइएका छन् ।

एक जनालाई दुई डोज खोपको हिसाब गर्दा अहिले नेपालको जनसङ्ख्यामध्ये आधाभन्दा कमले मात्र लगाएका बुझिन्छ । नेपालीले पूर्ण रूपमा खोप पाउने कहिले होला ? अब त बुस्टर खोप दिने बेला भइसक्यो, आधाभन्दा बढी जनसङ्ख्याले पहिलो दुई डोज नै पाएका छैनन् । पहिलाजस्तो क्वारेन्टाइनको व्यवस्था गर्नु परेको छैन, आफ्नै घरमा बसौँ भनिएको छ । सरकारी अस्पतालको व्यवस्थापन उस्ताको उस्तै छ, डाक्टर र नर्सको अभाव उस्तै छ । एक हजार जनसङ्ख्यालाई जम्मा ०.१७ डाक्टर मात्र छन् भने एक हजार जनसङ्ख्यालाई जम्मा ०.५ नर्स छन् । यस्तो स्थितिमा पेन्डामिक कोरोनाको व्यवस्थापन गर्न लागेका छौँ हामी । व्यवस्थापन नभएमा अन्तिम हतियार लकडाउन त छँदैछ नि ।

भोलिका केही दिन झन् डरलाग्दा देखिन्छन् । सचेत बसौँ । त्यसैले ओमिक्रोनको पहिलाको कोरोनाजस्तो खतरा छैन भन्ने कुरामा नलाऔँ । यो घातक पनि हुन सक्छ, मानिस मानिसमा फरक असर गर्छ । आफ्नो सुरक्षा आफैँ गरौँ । आफूलाई शङ्का लागेमा भीडभाडतिर नजाऔँ । तुरुन्त पीसीआर गराऔँ । विवाह, पार्टी आदि त पछि पनि आउँछन् तर अमूल्य जीवन आउने छैन । केही दिन मास्कलाई एकछिन पनि नछोडौँ, स्यानिटाइजर पटक पटक प्रयोग गरौँ । सबैले आफ्नो सुरक्षा गरे मात्र समग्रमा कोरोनालाई जित्न सकिने रहेछ । सक्नेले नसक्नेलाई मद्दत गरौँ र सबैजना
स्वस्थ बाँचौँ ।

प्रतिक्रिया

सम्बन्धित खवर