रामप्रसाद आचार्य

विश्वमा हुनसक्ने परमाणु युद्धको त्रासबीच पाँच शक्तिराष्ट्रले परमाणु अस्त्र विस्तार अन्त्य गर्ने सहमति गरेका छन् । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा आबद्ध पाँच स्थायी शक्ति राष्ट्रले परमाणु हतियारको विस्तार अन्त्य गर्नुपर्नेमा सहमति जुटाएका हुन् । सुरक्षा परिषद्का स्थायी सदस्य अमेरिका, रुस, बेलायत, चीन र फ्रान्सले परमाणु हतियारको उत्पादन र परमाणु युद्धको सम्भावना अन्त्यका लागि पहल गर्नुपर्नेमा जोड दिएका छन् । रुसका तर्फबाट जारी गरिएको पाँच देशको संयुक्त विज्ञप्तिमा पारमाणिक हतियार उत्पादन र रणनीतिक जोखिम कम गर्नु अहिलेको आवश्यकता रहेकोमा जोड दिइएको छ ।

अहिले विश्वमा सुरक्षाको अवस्था बलियो बनाइराख्न सबै मिलेर काम गर्नुपर्ने अवस्था छ । परमाणु हतियार प्रयोगको परिणाम र असर लामो समयसम्म रहनुका साथै दर्दनाक हुने गर्दछ । त्यसैले देशको आत्मरक्षा, तनाव कम गर्न र युद्ध रोक्ने उद्देश्यले परमाणु अस्त्रको प्रयोग गर्ने कुरामा पनि पुनरवलोकन गर्नुपर्ने भएको छ ।

चीनका उपविदेशमन्त्री मा जाओक्सुले संयुक्त प्रयासले आपसी विश्वास बढाउन मद्दत गर्ने र समन्वय–सहयोगका साथ ठूला शक्ति राष्ट्रबीचको प्रतिस्पर्धामा परिवर्तन ल्याउन सक्ने विश्वास व्यक्त गर्नुभएको छ । चीनले परमाणु हतियारलाई लिएर पहिले प्रयोग नगर्ने नीति अवलम्बन गरेको छ ।
फ्रान्सले पनि विज्ञप्ति जारी गर्दै पाँचै देशले हतियार नियन्त्रण र निशस्त्रीकरणका लागि आफ्नो दृढ सङ्कल्प दोहो-याएको छ । यसका लागि द्विपक्षीय र बहुपक्षीय प्रयास जारी रहनुपर्नेमा जोड दिएको छ ।

बेलायतले हालै आफ्नो सुरक्षा र प्रतिरक्षा नीतिमा आधारभूत परिवर्तन गरेको छ । डिजिटल प्रविधि, आर्टिफिसिअल इन्टिलिजन्स र साइबर क्षेत्रको बजेट बढाएको छ भने परम्परागत हतियार र सैन्य सङ्ख्याको बजेट घटाएको छ । यो परिवर्तन यस्तो समयमा भएको जुन बेला रुसले युक्रेनको सीमामा सेना तैनाथ गरेको छ । मस्कोले नेटोलाई आफ्ना सदस्य राष्ट्रबाट फिर्ता जान माग गरिरहेको छ । यता चीनले आवश्यक परे शक्ति प्रयोग गरेर भए पनि ताइवानलाई गाभ्ने दाबी गरिरहेको छ ।

यतिखेर विश्वभर साना क्षेत्रीय तनावहरू रोकिएका छैनन् । इथियोपियामा गृहयुद्ध छ, युक्रेनको द्वन्द्वमा सन् २०१४ यता १४ हजार मानिस मारिएका छन् सिरियाको द्वन्द्व रोकिएको छैन, काजकिस्तानमा आन्दोलन चर्केको छ भने इस्लामिक स्टेटले अफ्रिकामा पकड जमाउन खोजिरहेको छ ।
भविष्यमा ठूला शक्ति राष्ट्रबीच हुनसक्ने युद्ध कस्तो हुनेछ ? के पश्चिमा राष्ट्र ती चुनौतीका लागि सक्षम छन् ? प्रश्न उठेका छन् । पहिलो कुरा भविष्यको युद्धको तरिका अहिले नै देखिइसकेको छ । पश्चिमा राष्ट्र र चीन वा रुसजस्ता राष्ट्रबीच ठूलो द्वन्द्व भएमा देखिनसक्ने धेरै विषय अहिले नै विकास, परीक्षण र स्थापित भइसकेका छन् ।

गएको नोभेम्बर १६ मा रुसले अन्तरिक्षमा क्षेप्यास्त्र परीक्षण गर्दै आफ्नै एक भूउपग्रह नष्ट ग-यो । चीनले उच्चतम प्रविधियुक्त र आवाजभन्दा कैयौँ गुणा तीव्र गतिको हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण ग-यो । आक्रामक साइबर आक्रमण पनि नियमित भएका छन् । मूलतः पश्चिमा राष्ट्रले गत दुई दशकमा मध्यपूर्वमा ध्यान केन्द्रित गर्दा अन्य तिनका प्रतिस्पर्धी राष्ट्रले सैन्य सामथ्र्य बढाउने मौका पाएका छन् । अमेरिका, बेलायत र सहयोगी देशहरू २० वर्षको प्रतिआतङ्कवाद र प्रतिविद्रोह, इराक र अफगानिस्तान युद्धमा केन्द्रित रहेर भर्खरै बाहिर आएका छन् । अहिले उनीहरूको मुख्य प्रतिस्पर्धा चीन र रुससँग छ जसलाई बेलायत सरकारको प्रतिवेदनमा पश्चिमा देशका लागि दीर्घकालीन तीव्र खतरा र रणनीतिक प्रतिद्वन्द्वी भनिएको छ । यो अवधिमा चीन र रुसले नयाँ प्रविधिमा ठूलो लगानी गरी थप शक्तिशाली बनेका छन् ।

युक्रेनलाई लिएर पश्चिमा र रुसबीचको अहिलेको तनाव वा ताइवानलाई लिएर पश्चिमा र चीनको तनावले द्वन्द्वको आकार लियो भने के हुन्छ ? गम्भीर प्रश्न खडा भएको छ । चीनको सेनाले नयाँ विभाग बनाएको छ जसले अन्तरिक्ष, विद्युतीय युद्धकला र साइबर क्षमता हेर्छ । यसको अर्थ के हो भने द्वन्द्वको अवस्थामा दुवैतर्फबाट ठूला साइबर आक्रमण हुनेछन् । अर्को पक्षलाई भूउपग्रह वा समुद्रको तार काटेर सञ्चार विच्छेदको अवस्था बनाएर असक्षम बनाउने प्रयास हुनेछ । ठूला शक्ति राष्ट्रले धेरै खर्च गरिरहेको क्षेत्र विद्युतीय युद्धकलामा हो जसले भूउपग्रहलाई काम नगर्ने बनाई सञ्चार विच्छेद गर्न सकिन्छ । त्यसैले सेनालाई मात्रै होइन, भविष्यको द्वन्द्वको प्रमुख लक्ष्य समाज खतरामा हुनेछ । सबैभन्दा ठूलो खतराचाहिँ विनापूर्वसूचनाको द्वन्द्व हो । केही गरी कुनै देशको भूउपग्रहले अचानक काम गर्न छोड्यो र सेनाको कतै भूमिगत नियन्त्रण कक्षलाई के हुँदैछ भन्ने थाहा भएन भने त्यो देशको प्रतिउत्तर के भनेर निर्णय गर्न असाध्यै कठिन हुनेछ । त्यो अवस्थामा ती देशको प्रतिउत्तरले द्वन्द्वलाई झन् चर्काउन सक्ने
जोखिम रहनेछ ।

भविष्यको युद्धमा अर्को प्रमुख कुरा भनेर आर्टिफिसिअल इन्टिलिजन्स हुनसक्छ । यसले निर्णय क्षमता र निर्णय समयलाई तीव्र बनाउन सक्छ । मानिस र मेसिनलाई संयुक्त रूपमा प्रयोग गरेर रक्षात्मक वा आक्रामक योजना बनाउँदा विशाल विपक्षीलाई असहज बनाउन सकिन्छ ।
तर पश्चिमा देश चीन र रुसभन्दा खतरनाक तरिकाले पछाडि परिरहेको क्षेत्र भनेको हाइपरसोनिक क्षेप्यास्त्र हो । आवाजभन्दा पाँचदेखि २७ गुणा तीव्र गतिका यी क्षेप्यास्त्रले पारमाणविक युद्धशीर्ष पनि बोक्न सक्छन् । रुसले विश्वका सबै रक्षा व्यवस्थालाई तोड्न सक्ने जिर्कन हाइपरसोनिक क्रुज क्षेप्यास्त्रको सफल परीक्षण गरेको छ ।

चीनले सन् २०१७ मा सार्वजनिक गरेको डङ फेङ १७ मा हाइपरसोनिक ग्लाइड भेहिकल हुन्छ जसले यसको मार्गलाई उडानकै क्रममा पनि नियन्त्रण गर्न सकिन्छ । त्यसो गर्दा यसलाई पत्ता लगाउन धेरै गाह्रो हुन्छ । तुलनात्मक रूपमा हालका अमेरिकी प्रविधिका परीक्षण भने राम्रो भएका छैनन् । चिनियाँ हतियारका कारण उसले ताइवानलाई आक्रमण गरेमा सो देशको रक्षाका लागि उत्रिने निर्णय गर्दा अमेरिकाले गम्भीर रूपमा सोच्नुपर्ने अवस्था छ । हाल युक्रेनको सीमामा रुसले तैनाथ गरेको सेना र सैन्य पूर्वाधार परम्परागत नै छन् । त्यहाँ अहिले अत्याधुनिक हतियार भने तैनाथ गरिएको छैन । रुसले यसलाई युद्ध नभई नियमित अभ्यास भनेको छ ।

पछिल्ला घटनाक्रमलाई हेरेर बेलायतले परम्परागत सैन्य पूर्वाधार र हतियारमा खर्च कटौती गरेर नयाँ प्रविधिमा खर्च गर्ने निर्णय गरेको छ । जसले २० वर्षपछि बलियो अवस्थामा पु-याउनेछ तर त्यो समयसम्मका लागि उसलाई जोखिमपूर्ण अवस्था रहनेछ । केही समय पश्चिमा देशका लागि खतरा बनेका रुस र चीनको प्रयास रोक्न सही लगानी र मित्र राष्ट्रहरूसँग सहकार्य महìवपूर्ण हुनेछ । मुलुकको सोचलाई एक स्थानमा लगाई सही प्रविधि र अवधारणामा लगानी गर्ने हो भने सम्भावित ठूलो युद्धलाई टार्न सक्ने अवस्था छ ।
आत्मरक्षाका लागि भन्दै शक्ति राष्ट्रहरूले जतिसुकै अत्याधुनिक प्रविधियुक्त परमाणुलगायतका अस्त्र बनाए पनि युद्ध समस्याका समाधान होइन । कुनै पनि द्वन्द्वको शान्तिपूर्ण वार्ताद्वारा समाधान नै आजको आवश्यकता हो । युद्ध गरेर शान्ति प्राप्त गर्न सकिँदैन । त्यसैले सम्भावित कुनै पनि युद्ध र द्वन्द्वको समाधान परमाणु अस्त्रको प्रयोग होइन, वार्ता हो । वार्ताबाट सबै समस्याको समाधान निकाल्न सकिन्छ ।

दुःखको कुरा आफ्नो स्वार्थका लागि परमाणुलगायतका अस्त्र बनाउने क्रम रोकिएन । पाँच शक्ति राष्ट्रको देखासिकी गरी भारत, पाकिस्तान, उत्तर कोरियाले पनि परमाणु हतियार बनाए । उत्तर कोरियाले यही जनवरी ५ मा अत्याधुनिक व्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरी शक्ति सञ्चय गरेको छ । इजरायल र इरान पनि परमाणु हतियार प्राप्तिको नजिक पुगेका छन् । परमाणु अस्त्र भए मुलुकको सुरक्षा हुन्छ भन्ने भ्रम धेरैलाई छ । यो भ्रम मात्रै हो । परमाणु अस्त्रले सुरक्षा होइन आतङ्क र त्रास बढाउँछ । परमाणु अस्त्र बनाउन जति खर्च हुन्छ, त्यसलाई नष्ट गर्न त्यसभन्दा बढी खर्च हुन्छ । त्यसैले यो महँगो अभियान सञ्चलन नगर्नु नै राम्रो हुन्छ ।

परमाणु अस्त्रले सारा विश्व ब्रह्माण्ड नै असुक्षित बनेको छ । हाल विश्वमा २३ हजार पाँच सयभन्दा बढी परमाणु अस्त्र तयारी अवस्थामा राखिएको छ । सबैभन्दा बढी परमाणु अस्त्र अमेरिका र रुसँसग छन् । दुवै देशले परमाणु अप्रसार सन्धि गरी केही परमाणु अस्त्र कटौतीसमेत गरेका छन् तर यो पर्याप्त भएन । त्यसैले अब परमाणुु अस्त्र विस्तार नगर्ने भनी पाँच शक्ति राष्ट्रले गरेको सहमति कार्यान्वयन गर्दै बनाइएका परमाणु अस्त्र नष्ट गरी विश्व र मानव जातिलाई परमाणु अस्त्रमुक्त गराउनुपर्छ । परमाणु अस्त्रमुक्त विश्व भएमा मात्र सुन्दर र सभ्य मानव जीवन सुरक्षित बन्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर