मुख्य पृष्ठ
समाचार
सोच
कला
बजार
खेलकुद
प्रवास
रोचक
स्वास्थ्य
मल्टिमिडिया
पाँच प्रश्न
English

वसन्त पञ्चमी प्रकृतिसँग अन्योन्याश्रित रूपले जोडिएको छ : राष्ट्रपति भण्डारी
आज बालबालिकालाई विद्यारम्भ गराउँदा दीगो शिक्षा प्राप्त हुने जनविश्वास’
facebook sharing buttonSharetwitter sharing buttonmessenger sharing buttonemail sharing button
दैनिक नेपाल२०७८ माघ २३ गते ८:५२

काठमाडौं, २३ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका धेरै सांस्कृतिक पर्व र परम्परा जस्तै वसन्तपञ्चमी पनि प्रकृतिसँग अन्योन्याश्रित रूपले जोडिएको बताएकी छिन् ।

वसन्तपञ्चमी (श्रीपञ्चमी)का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले जाडोयाम सकिएर वसन्त ऋतुको आगमन हुँदा प्रकृतिले नवीनता पाउने र स्रस्टाहरूले वसन्त ऋतुलाई सृजनाको प्रतीक मान्ने गरेको बताएकी छिन् ।

‘नेपालका धेरै सांस्कृतिक पर्व र परम्परा जस्तै वसन्त पञ्चमी पनि प्रकृतिसँग अन्योन्याश्रित रूपले जोडिएको छ,’ राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘जाडोयाम सकिएर वसन्त ऋतुको आगमन हुँदा प्रकृतिले नवीनता पाउँछ । स्रस्टाहरू वसन्त ऋतुलाई सृजनाको प्रतीक मान्दछन् । किसानका निम्ति वसन्त पञ्चमी नयाँ बाली लगाउन प्रकृतिले दिएको अवसरका रूपमा लिइन्छ । त्यसैले पर्यावरणको दिगो संरक्षण गर्दै मानव विकासको अवधारणालाई मूर्तरूप दिन आजका दिनले प्रेरणा प्रदान गर्दछ भन्ने मलाई लागेको छ ।’

त्यस्तै उनले सरस्वती पूजाको सबैभन्दा ठूलो सन्देश बाल्यावस्थादेखि नै शिक्षालाई विशेष जोड दिनु भएको पनि सन्देशमा उल्लेख गरेकी छिन् । ‘विद्याले व्यक्तिको सामर्थ्य अभिवृद्धि गर्छ, सच्चरित्र दिन्छ । त्यसैले आजको दिन बालबालिकालाई विद्यारम्भ गराउँदा दीगो शिक्षा प्राप्त हुने जनविश्वास छ । अतः सरस्वती पूजालाई अक्षरारम्भ गराउने दिवसका रूपमा समेत लिइन्छ,’ सन्देशमा भनिएको छ ।

वसन्त पञ्चमीलाई सरस्वती प्रकट भएको दिन अर्थात् सरस्वती जयन्ती मानेर सरस्वतीलाई विद्याकी देवीका रूपमा पूजा–आराधना गर्ने प्रचलन वैदिक कालदेखि नै चलिआएको छ । ऋग्वेदमा वाग्देवी अर्थात् वाणीकी देवी मानिएकी सरस्वती भएजस्तै बौद्ध सभ्यतामा ज्ञानका बुद्धलाई मन्जुश्रीका रूपमा उपासना गरिन्छ । ज्ञानका स्रोत मानिने पुस्तकसहित संगीतका वाद्ययन्त्र तथा रङ्ग–कलाका साधनलाई समेत सरस्वतीकै स्वरूप मानेर पूजा गर्ने परम्परा छ । वसन्त पञ्चमीले एकातिर ज्ञानमा अन्तर्निहित शक्तिको पहिचान गरी त्यसलाई उत्सवमय बनाउँछ भने अर्कोतिर मानवजातिलाई असल र खराब छुट्याई असल मात्रलाई ग्रहण गर्ने आन्तरिक प्रकाशको खोजी गर्न निरन्तर उत्प्रेरित गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर