अखिल नेपाल फुटबल संघ (एन्फा) गोरखाको आयोजनामा फागुन २१ देखि चैत ५ गतेसम्म गोरखा लिग फुटबल प्रतियोगिता हुने भएको छ । एन्फामा आवद्ध ११ वटा क्लव बीच लिग फुटबल हुन लागेको बिहिवार एन्फा गोरखाले सदरमुकाममा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

प्रतियोगितामा बिजेतालाई नगद एकलाख र उपबिजेतालाई नगद ५० हजार पुरस्कार प्रदान गरिने एन्फा गोरखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए । ‘बिजेता टिमले गण्डकी प्रदेश स्तरको प्रतियोगितामा सहभागिता जनाउन पाउनेछ’, उनले भने, ‘त्यहाँ पनि बिजेता भएको खण्डमा शहीद स्मारक सी डिभिजनमा प्रवेश पाउनेछ ।’

कोभिडका कारण २०७६ पछि गोरखामा लिग फुटबल गर्न नसकिएको एन्फाले जनाएको छ । अहिले अवस्था सहज भएकाले लिग फुटबल आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताए । प्रतियोगितामा सहभागी क्लवले आठजना स्थानीय खेलाडीलाई सहभागी गराउनुपर्नेछ । जिल्ला लिगका लागि आठ लाख ५० हजार खर्च लाग्ने महासचिव विशाल गुरुङले बताए । ७० मिनेट खेलाईने खेलमा उत्कृष्ट पाँचवटा बिधामा पुरस्कार दिने एन्फा गोरखाले बिहिवार आयोजित पत्रकार भेटघाटमा घोषणा गरेको छ ।

एन्फामा गोरखा नगरपालिकाभित्रका हरमटारी क्लव, दि गुर्खाज युनाईटेड, द ओसन क्लव, सुर्योदय युवा क्लव र सतिपिपल क्लव आवद्ध छन् । पालुङटार नगरपालिकाबाट चेपे आदर्श युवा क्लव, आदर्श युवा क्लव, तालदेवी क्लव, बौद्ध हिमाल क्लव, च्याङ्ली स्पोटर्स क्लव र मस्र्याङ्दी युवा क्लव आवद्ध छन् । २०७६ मा पालुङटारको बौद्ध हिमाल क्लव जिल्ला लिग बिजेता बनेको थियो ।

तयारीका लागि एन्फाले ११ वटै क्लवलाई १०\१० हजार रुपैयाँ दिने महासचिव गुरुङले बताए । खेल गोरखा नगरपालिका १० छेवेटार स्थित दरौँदी किनारमा रहेको मैदानमा हुनेछ । अन्य जिल्लाबाट जिल्ला लिग खेलेका खेलाडीलाई क्लवहरुले सहभागी गराउन भने नपाउने एन्फा गोरखाले जनाएको छ । उक्त मैदानमा एन्फा, गोरखा नगरपालिका र गण्डकी प्रदेशको खेलकुद मन्त्रालयको सहयोगमा महिला टेक्निकल सेन्टर निर्माणाधीन छ ।

प्रतिक्रिया

सम्बन्धित खवर