गोरखाको ऐतिहास लिगलिगकोटमा चैत्र ४ गते हुन लागेको साइकल दौडको सम्पूर्ण तयारी पूरा भएको छ । प्रसिद्ध ऐतिहासिक स्थल लिगलिगकोटको प्रचारप्रसार गरी पर्यटन विकास गर्ने उद्देश्यले आयोजना गर्न लागिएको ‘दोस्रो लिगलिगे साईकल दौड’ का लागि व्यस्थापकीय पक्षका सबै तयारी पूरा भएको आयोजकले जनाएको छ ।

साइकल दौडका लागि रुट मिलाउने कार्य सकिएको र प्रतियोगितामा खटिने स्वयसेवहरु पनि छनौट गरिसकेको लिगलिग भिलेज स्पोटर्सका अध्यक्ष संजीव राना मगरले बताए । पालुङ्टार नगरपालिकाको सहयोग र नेपाल साइकल संघको सहकार्यमा लिगलिग भिलेज स्पोटर्सले यही चैतको चारगते साइकल दौडको आयोजना गर्दैछ ।

५२.९ किलोमिटर लामो खुल्ला साइकल दौडमा पहिलो, दोस्रो, तेस्रोदेखि दशौँसम्म हुनेलाई क्रमसः २५ हजार, २०, हजार, १५, हजार, १०, पाँचहजार, दुई हजार पाँच सय, दुई हजार, एक हजार पाँच सय, तीन जनालाई प्रदान गरिने अध्यक्ष राना मगरले बताए ।
महिलातर्फ पनि सोही अनुसार १० जनालाई नगदसहित पुरस्कार प्रदान गरिनेछ । गण्डकी प्रदेशतर्फको प्रतियोगितामा पहिलोदेखि तेस्रो हुनेलाई नगद पाँच हजार, तीन हजार र दुई हजार पाँच सय प्रदान गरिने छ । यो बिधा पनि महिला र पुरुषका छुट्टाछुट्टै छन् ।

पालुङटार नगरपालिका भित्रका स्थानीय महिला पुरुषका लागि छुट्टाछुट्टै बिजेता घोषणा गरिनेछ । दुईहजार पाँचसय, दुईहजार र एकहजार पुरस्कार प्रदान गरिने अध्यक्ष राना मगरले बताए ।

यो वर्ष राजिष्ट्रेशनका लागि नेपाली र विदेशी सबैलाई दुई हजार रुपैया मात्र तिर्नुपर्ने उनले बताए । प्रतियोगितामा सहभागीलाई दुई रात बसोबासको ब्यवस्थासमेत आयोजकको तर्फबाट गरिएको रानामगरले बताए ।

खुल्ला रुपमा गर्न लागिएको उक्त प्रतियोगिताका लागि २० लाख रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकको छ । जसका लागि पालुङटार नगरपालिबाट पाँच लाख रुपैया विनियोजन गरिएको छ । पुरस्कार राशीका लागि युवा तथा खेलकुद मन्त्रालय, गण्डकी प्रदेशले दुईलाख रुपैयाँ उपलब्ध गराएको र बाँकी रकम जुटाउन बाँकी रहेको आयोजक संस्थाका प्रतिनिधि विजय पाण्डेले बताए ।

सो कार्यक्रमका लागि गोरखा नगरपालिका, सिरानचोक गाउँपालिका, राइनास नगरपालिकाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । दौड प्रतियोगितामा सहभागी हुनका लाग फागुन १० गतेबाट फागुन ३० गते(आज)सम्म रजिष्ट्रेशन खुल्ला गरिएको लिगलिग भिलेज स्पोटर्सका अध्यक्ष सञ्जीव राना मगरले बताए ।

लिगलिगकोटबाट सुरु हुने साइकल दौड प्रतियोगिता आँपपिपल, हर्मी भञ्ज्याङ, थापागाउँ, आँपपिपल हस्पिटल, सिर्दिखोला, भण्डारथोक हुँदै लमजुङको रागिनास नगरपालिका ७ स्थित गरमबेशी, चेपे दोभान हुँदै पालुङटार एयरपोर्ट आइपुग्नेछ । त्यहाँबाट ताल पोखरी, ठाँटी पोखरी, लुईटेल हुँदै सभाचौतारोबाट लिगलिगकोट पुग्ने गरी रुट तय गरिएको छ ।

‘पालुङटार र लिगलिगकोटको प्रचार प्रसार गर्नका लागि साईकल दौड राखिएको हो’, लिगलिग भिलेज स्पोटर्सका अध्यक्ष राना मगरले भने, ‘एकदिन हामीले कार्यक्रम आयोजना गरेर वर्षभरि साईकलयात्री यहाँ आउन र यहाँको आर्थिक गतिविधि बढोस् भन्ने चाहना हो ।’ प्रतियोगितापछि बिभिन्न समुहमा आउनेलाई सशुल्क साईकल रेस गराउने गरी ट्रेल पहिचान गरिने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर