तपाईंले जाडोमा ब्रिकेट बालेर ताप्नुभयो? नभए पनि खाना पकाउन वा अरू घरायसी प्रयोजनका लागि बाल्नुभयो होला।

सामान्यतया ब्रिकेट सुकेका पातपतिंगर, गोबर लगायतबाट बनाइन्छ। तर के तपाईंलाई थाहा छ, हामीले प्रयोग गर्ने पैसाको नोटबाट पनि ब्रिकेट बन्छ? अनि हामीले नोटबाट बनेको ब्रिकेट बाल्न पाउँछौं?

तपाईंसँग पुराना-झुत्रा नोट छन् भने बैंक तथा वित्तीय संस्थाहरूबाट नयाँ साट्न पाइन्छ। बैंक तथा वित्तीय संस्थाहरूले ती पुराना-झुत्रा नोट नेपाल राष्ट्र बैंकमा पठाउँछन्। राष्ट्र बैंकले ती पुराना नोट जलाएर नस्ट गर्छ।
invotech

अचेल भने ती झुत्रा पुराना नोटबाट स–साना टुक्रा बनाएर ब्रिकेट बनाइन थालिएको छ। नोट टुक्र्याएर ब्रिकेट बनाउने मेसिन राष्ट्र बैंकले भित्र्याइसकेको छ।

‘पुराना र धुल्याउने नोटको व्यवस्थापनका लागि राष्ट्र बैंकले ब्रिकेट बनाउन सुरू गरेको हो,’ राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले जानकारी दिए।

उनका अनुसार अहिले गण्डकी प्रदेशबाहेक सबै प्रादेशिक कार्यालय र केन्द्रमा ब्रिकेट बनाउने काम भइरहेको छ। पोखरामा भने ट्रान्समिटरले नधानेर परिवर्तन गर्नुपर्ने भएको छ। ट्रान्समिटर फेरेपछि तुरून्तै मेसिन जडान गरिने उनले जानकारी दिए। परिवर्तन गर्न हप्ता/दस दिन लाग्ने छ।

काठमाडौं, वीरगञ्ज, विराटनगर, नेपालगञ्ज, जनकपुर, धनगढी र भैरहवाबाट भने ब्रिकेट बनाउने काम भइरहेको नेपालले जानकारी दिए।

मेसिनले एक घन्टामा एक सय किलो ब्रिकेट बनाउन सक्छ। सात ठाउँमा गरेर अहिले दैनिक १४ सय किलो ब्रिकेट उत्पादन भइरहेको उनी बताउँछन्।

‘मेसिनको क्षमता प्रत्येक दिन आठ घन्टा चल्न सक्ने हो। तर अहिले आवश्यकता अनुसार दुईदेखि चार घन्टा चलाइरहेका छौं,’ कार्यकारी निर्देशक नेपालले भने, ‘हालसम्म हामीसँग केन्द्रमा तीन हजार र प्रादेशिक कार्यालयमा कतै एक हजार कतै दुई हजार ब्रिकेट बनाएर राखेका छौं।’

राष्ट्र बैंकले अहिले ब्रिकेटका प्रयोगकर्ता खोजिरहको छ। नोटबाट बनाइएको ब्रिकेट कहाँ–कहाँ प्रयोग हुन्छ भनेर अध्ययन गरिरहेको छ।

नेपालका अनुसार फाट्टफुट्ट दुई/चार हजार किलो ब्रिकेट बिक्री पनि भएको छ। केही कम्पनीसँग बिक्रीका लागि छलफल पनि भइरहेको छ।

‘हामीले कतिपयलाई त परीक्षणका लागि निःशुल्क पनि दिएका छौं। ग्राहकले माग गरे धूलो पनि दिन्छौं,’ उनले भने।

नोटबाट बनाइएको ब्रिकेट इँटा भट्टा, कागजका झोला बनाउने र प्लास्टिक उद्योगमा प्रयोग गर्न सकिने नेपाल बताउँछन्। भारततिर सडक बनाउने क्रममा पनि प्रयोग हुने गरेको बारे आफूले थाहा पाएको उनले जानकारी दिए।

सीप नभएकाले पनि सजिलै दुई-चार दिनमै मेसिन चलाउन सिक्ने भएकाले दक्ष कामदार आवश्यक नपर्ने उनी बताउँछन्। मेसिन मर्मतसम्भारका लागि करारमा एक जना मेकानिकल इञ्जिनियर भर्ना गर्ने बैंकको योजना छ।

चलनचल्तीका निम्ति अयोग्य ठहरिएका नोट ब्रिकेट मेसिनमार्फत व्यवस्थापन गरिए पनि अहिले नै नोट जलाउने भट्टी हटाउने भने राष्ट्र बैंकको योजना छैन। भट्टी र मेसिन दुवैमार्फत नोट व्यवस्थापन गरिने छ।

‘भट्टी अहिले नै हटाउँदैनौं, एक-डेढ वर्ष हेर्छौं। बजारमा ब्रिकेटको माग भयो भने भट्टीलाई इतिहासका रूपमा राख्छौं कि हटाउँछौं, अहिले निर्णय भइसकेको छैन,’ उनले भने।

पुराना नोट व्यवस्थापन गर्न ब्रिकेट मेसिन प्रयोग गरेपछि नोट जलाएर वातावरण असर गर्‍यो भन्ने आरोप पनि राष्ट्र बैंकलाई नलाग्ने उनको भनाइ छ।

‘आगो लगाउँदा धुँवा आउँछ, वातावरणमा मिसिन्छ,’ उनले भने, ‘मेसिनमार्फत गर्दा वातावरणमा केही असर गर्दैन।’

नेपालमा नोट व्यवस्थापनका लागि नयाँ प्रणालीको सुरूआत भएको उनको भनाइ छ।

‘प्रविधि भित्र्याउनु आफैंमा ठूलो कुरा हो। मेसिन भित्र राखेपछि दुरूपयोग होला भन्ने डर हुँदैन,’ उनले भने, ‘पहिले खरानी भएर जान्थ्यो, अहिले बिक्री भयो भने दुई-चार पैसा आम्दानी हुन्छ।’

नेदरल्यान्ड्सको एक कम्पनीसँग सन् २०२० को जनवरीमा पुराना नोटबाट ब्रिकेट बनाउन आठ वटा मेसिन ल्याउने सम्झौता भएको थियो। सम्झौता अनुसार खरिद लागत प्रति मेसिन तीन हजार ८१ युरो छ। मेसिनको अवधि कम्तीमा दस वर्ष हुने राष्ट्र बैंकले बताएको छ।

नोट धुल्याउने कामलाई आधुनिकीकरण र यान्त्रीकरण गर्ने उद्देश्यका साथ मेसिन सञ्चालनमा ल्याइएको हो। केन्द्रीय बैंकले यो मेसिनलाई बैंक नोट स्रेडिङ एन्ड ब्रिकेटिङ सिस्टम (बिएसबिएस) नाम दिएको छ।

जलाएर नस्ट गरिँदै आइएकोमा बिएसबिएस मेसिन प्रयोगमार्फत् स–साना टुक्रा बनाउने र स्वचालित प्रविधिबाट ब्रिकेट उत्पादन गरिनेछ। नेपालका अनुसार उपकरणको पहिलो भागले नोट टुक्र्याउने काम गर्छ भने दोस्रो भागले ब्रिकेट तयार गर्छ।

एक बन्डलमा एक सय ६० देखि दुई सय ३० किलो नोट हुन्छ। मेसिनमा एक पटकमा एक बन्डल नोट हाल्न पर्छ। एउटा ब्रिकेट डेढ सयदेखि दुई सय ग्रामको हुन्छ। चारदेखि पाँच वटा ब्रिकेटको तौल एक किलो हुन्छ।

राष्ट्र बैंकले अहिले सात प्रकारका नोट प्रचलनमा ल्याएको छ। बैंकले वार्षिक ४० देखि ५० अर्ब रूपैयाँ नचल्ने पुराना नोट नस्ट गर्दै आएको छ।

राष्ट्र बैंकका अधिकारीहरू लापरबाहीपूर्वक प्रयोग गरिनुले नोट झुत्रिने क्रम बढ्दै गएको बताउँछन्। डिजिटल प्रविधिबाट कारोबार गर्ने पद्धति विकास हुँदै गएमा झुत्रिने नोट संख्यामा कमी आउने र यसले छपाइमा लाग्ने लागत पनि घट्नेछ। सेतोपाटी दैनिक मा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर