काठमाडौँ : राजधानीमा फेरि ठूलो संख्यामा चिनियाँ नागरिक समातिएका छन् । गत शुक्रबार अध्यागमन विभाग र महानगरीय प्रहरी परिसरको संयुक्त टोलीले २२ जना चिनियाँलाई बूढानीलकण्ठ क्षेत्रबाट पक्रेको हो ।

शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरुलाई झण्डै चार सय मोबाइल सेट, ठूलो संख्यामा ल्यापटप र केही नगदसहित पक्राउ गरिएको हो । उक्त घटनाबारे प्रहरीले कुनै जानकारी सार्वजनिक गरेको छैन ।

उनीहरुमध्ये धेरैलाई तीन चार जनाको दरले विभिन्न ठाउँमा बाँडेर राखिएको बताइन्छ । चिनियाँहरुलाई अहिले दरबारमार्ग,नयाँ बानेश्वर, महाराजगञ्ज,प्रहरी परिसर टेकूलगायतका वृत्त र प्रभागमा राखिएको छ । हालसम्मको अध्ययनबाट चिनियाँहरुले बिजनेस भीसाको दुरुपयोग गरेको देखिएको छ ।

केहीले भीसाको म्याद नाघेपछि पनि ओभरस्टे गरेको पाइएको हो । अहिले उनीहरुविरुध्द अध्यागमन विभागले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकामा १० जना महिला र १२ जना पुरुष छन् । उनीहरुसँग अध्यागमन विभागले आवश्यक सोधपुछ र अनुसन्धान सकाएपछि मात्र प्रहरीको तर्फबाट केरकार र अन्य प्रक्रिया अघि बढाइने स्रोतले बताएको छ ।

पक्राउ परेकाबाट ३३ वटा ल्यापटप र पाँच सयभन्दा धेरै मोबाइल बरामद भएको छ । अनलाइन जुवा खेलाउन ती डिभाइस प्रयोग भएको आशंका गरिएको छ । पक्राउ परेका २२ मध्ये २१ जना बिजनेस भिसामा लामो समयदेखि बस्दै आएका थिए । एकजना पहिला बिजनेस भिसामा बसेर पछि पर्यटक भिसामा थिए ।

एक वर्षअघि नै उनको भिसाको म्याद सकिएको अनुसन्धानमा खुलेको छ । अध्यागमन विभागले उनीहरू अवैध गतिविधिमा संलग्न भएको भन्ने सूचना प्राप्त गरी प्रहरीको सहयोगमा छापा मारेर पक्राउ गरेको हो । तर, दुई दिन थुनामा राखी सोमबार उनीहरूलाई मुद्दा नचलाई तारेखमा छाडिएको छ । उनीहरूबाट बरामद डिभाइसको थप अनुसन्धान गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई जिम्मेवारी दिइएको छ । ‘बरामद डिभाइसको फरेन्सिक ल्याबमा परीक्षण गर्छाैं,’ अपराध अनुसन्धान कार्यालय प्रमुख एसएसपी वसन्त कुँवरले भने, ‘त्यसपछि के मुद्दामा अनुसन्धान गर्ने भन्ने तय हुन्छ ।’

पक्राउ परेकाहरूले नेपालमा वैदेशिक लगानी ल्याइसकेका थिएनन् । उनीहरूले लगानी ल्याउने प्रतिबद्धता जनाएर बिजनेस भिसा लिएका थिए । तर, नेपालमा व्यवसाय गर्नेभन्दा लामो समय बसेर अनलाइन जुवालगायतका धन्दा चलाउने मात्र उद्देश्य देखिएको अध्यागमन विभाग स्रोत बताउँछ ।

लगानी नल्याए पनि पटक–पटक उनीहरूको बिजनेस भिसा थपिएको थियो । पर्यटक भिसामा एक वर्षमा पाँच महिनाभन्दा धेरै बस्न नपाइने भए पनि यसरी बिजनेस भिसाको दुरुपयोग भएको हो । विभागबाट नियमन नहुँदा बिजनेस भिसामा बसेर उनीहरूले गैरकानुननी काम गर्दै आएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर