गाेरखा । भीमसेन थापा गाउँपालिकाका पुर्वअध्यक्ष ईश्वर पाण्डेसहित पाँच जना बिरुद्ध डिभिजन बन कार्यालय गोरखाले पक्राउ पुर्जी जारी गरेको छ ।

गाउँपालिकाको वडा नम्बर ८ स्थित भवानी सामुदायिक वनको वन पैदावरमा हानिनोक्सानी पुर्याएको भन्दै कार्यालयले उनीहरु बिरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । पक्राउ पुर्जी जारी हुनेमध्य गापाका पुर्वअध्यक्ष पाण्डे, सामुदायिक वनका सचिव, सहसचिव लगायत अन्य पाँच जना रहेको कार्यालयले जनाएको छ ।

‘वन पैदावरमा हानीनोक्सानीको अभियोगमा पक्राउ पुर्जी जारी भएको छ । तर, अहिलेसम्म पक्राउ परेका छैनन्’, कार्यालयका सूचना अधिकृत महेश पौडेलले भने ।

सोही अभियोगमा यस अघि नै भवानी सामुदायिक वनका अध्यक्ष राम ढकाल पक्राउ परिसकेका छन्। ढकाललाई वन कार्यालयले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेकाे छ।

अनुसन्धानको क्रममा ढकालले दिएको बयानका आधारमा कार्यालयले गापाका पुर्वअध्यक्ष पाण्डेसहित पाँच जना बिरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । पाण्डे नेपाली कांग्रेसकाे तर्फबाट २०७४ काे निर्वाचनमा पालिका अध्यक्षमा विजयी भएका थिए ।
‘हामी अहिले अनुसन्धानकै क्रममा छौँ । आवश्यक अनुसन्धान सकिएपछि सरकारी वकिलको रायसहित सम्माननीय जिल्ला अदातलमा मुद्धा दर्ता हुनेछ’, पौडेलले भने ।

अश्विन दानी – Janachasotimes

प्रतिक्रिया

सम्बन्धित खवर