१४ असार, पोखरा । पोखरा महानगरपालिका–२५ हेमजामा खेती किसानी गर्दै आएका हरिप्रसाद तिमिल्सिना यसपटक खेतबारीमा प्राङ्गारिक मल प्रयोग गर्ने सोचमा छन् । करिब ८ रोपनी जग्गामा उनी धान रोप्ने तयारीमा छन् । तर, समयमै मल नपाइने निश्चितजस्तै भएपछि उनी प्राङ्गारिक मलतिर सोझिएका हुन् ।

‘घरमा वस्तुभाउ पनि पालेको छु । तिनीहरुको मलमुत्र नै योपालि खेतबारीमा प्रयोग गर्ने सोच बनाएको छु । अर्को मल (रासायनिक) आउने/नआउने थाहै भएन,’ तिमिल्सिना भन्छन्, ‘आलु, गोभीलगायत तरकारीमा भने त्यही मल हाल्छु ।’

गाईवस्तु पालेकै कारण तिमिल्सिनालाई मलको अभाव नहुने भए पनि पोखराका अन्य किसानसँग भने विकल्प छैन । पोखरा फूलबारीमा करिब ४ रोपनी जग्गामा धानबाली लगाउँदै आएका कृष्ण गुरुङलाई मल नपाएपछि चिन्ताले सताएको छ । ‘धान लगाउनेबेला भइसक्यो । मल नै पाइएन । यसपालि कुखुरा, गाईभैंसीको मल पनि नपाइएलाजस्तो भयो,’ गुरुङले भने, ‘मल नभएकै कारण चैते धान पनि राम्रो हुन पाएन । किन्न भनेर जाँदा पनि छैन भनेर पठाउँछन् ।’

पोखरा महानगर कृषि महाशाखा प्रमुख मनोहर कडरिया पनि बर्खा लागेसँगै किसानहरु मल अभावको गुनासो लिएर आउन थालिसकेको बताउँछन् । ‘कृषि सामग्री केन्द्र र साल्ट ट्रेडिङले मल उपलब्ध गराएपछिमात्रै किसानले मल पाउने हुन् । तर, अहिले दुबैले कहिले ल्याउँछन् भन्ने नै थाहा छैन,’ उनले भने ।

यस वर्ष कास्कीको पोखरामामात्रै होइन, गण्डकी प्रदेशका सबै जिल्लामा रासायनिक मल अभाव हुने कृषि सामग्री केन्द्र पोखराले जनाएको छ ।
कृषि सामग्री केन्द्र पोखराका प्रमुख ठाकुरप्रसाद बास्तोला

गण्डकी प्रदेशभर ५ हजार मेट्रिक टनभन्दा बढी मल माग भइरहेकोमा केन्द्रले आधा पनि माग पुर्याउन नसकिरहेको कृषि साम्रगी केन्द्र पोखराका प्रमुख ठाकुरप्रसाद बास्तोलाले जानकारी दिए । देशैभर रासायनिक मलको अभाव रहेकाले गण्डकीमा पनि त्यसको प्रभाव पर्न गएको उनले बताए । ‘अहिले हामीसँग पोटासबाहेक अन्य मल छैन । सबै नील छ तर किसानबाट माग हुन छोडेको छैन,’ बास्तोला भन्छन्, ‘देशैभरि मलको अभाव भइरहेकोबेला गण्डकीमा नपुग्नु स्वाभाविक हो ।’

केन्द्रका अनुसार गण्डकी प्रदेशमा ५ हजार मेट्रिक टन युरिया र २ हजार ५ सय मेट्रिक टन डीएपी मलको माग छ । तर, केन्द्रले युरिया ३ हजार ८० र डिएपी १ हजार ३२० मेट्रिक टन मात्रै पुर्याउन सकेको बास्तोलाले जानकारी दिए । ‘हामीसँग अहिले पोटासमात्रै १४२ मेट्रिक टन मौज्दात छ । अरु मलको मौज्दात छैन,’ उनले भने, ‘गण्डकीको माग पूरा गर्न अझै २ हजारभन्दा बढी मेट्रिक टन मल चाहिन्छ ।’

रासायनिक मल नेपालमा उत्पादन नहुने भएकाले तेस्रो मुलुकबाट ग्लोबल टेन्डरबाट आयात गर्नुपर्ने बाध्यता छ । नेपालमा मल ल्याउन कृषि सामग्री केन्द्र र साल्ट ट्रेडिङ कर्पोरेशनले जिम्मा पाएका छन् । मल ल्याउन सरकारले निश्चित बजेट छुट्याएर अनुदान दिँदै आएको छ । अघिल्लो आर्थिक वर्षमा नेपाल सरकारले १७ अर्ब अनुदान दिएको थियो भने आगामी आर्थिक वर्षका लागि १५ अर्ब छुट्याएको छ ।

तर, बढ्दो महँगीसँगै मलको खरिद मूल्य पनि आकाशिँदै जाँदा आगामी दिनमा रासायनिक मलको अभाव अझै बढ्ने केन्द्र प्रमुख बास्तोला बताउँछन् । ‘पहिले ३ सय डलरमा पाइने मल अहिले १२ सय डलरसम्म पुगिसक्यो । सरकारले उपलब्ध गराएको अनुदानको भर पर्ने हो भने आधा मल ल्याउन पनि पुग्दैन,’ बास्तोला भन्छन्, ‘आगामी आर्थिक वर्षको न्यून अनुदानले झन् मल अभावको समस्या पूर्ति गर्न नसक्ने देखिन्छ ।’

‘बफर स्टक’बाट बाँडेपछि केही राहत

केन्द्रका अनुसार नेपालमा वीरगञ्ज, भैरहवा र विराटनगर नाकाबाट रासायनिक मलखाद भित्रिन्छ । प्रत्येक नाकाबाट भित्रिने मलमध्ये १० प्रतिशत ‘बफर स्टक’का रुपमा राखिन्छ । गण्डकीमा वीरगञ्ज र भैरहवाबाट मल आउने गर्दछ । गण्डकी प्रदेशभरमा सबैभन्दा बढी मल वितरण नवलपुरको कावासोती, कास्कीको पोखरा र तनहुँको दमौली क्षेत्रबाट हुने गरेको छ ।

कृषि सामग्री केन्द्र पोखरा प्रमुख बास्तोलाका अनुसार किसानबाट मलखादको अत्याधिक माग भएकाले २–३ दिनभित्रै ‘बफर स्टक’को वितरण गर्ने तयारी छ । ‘केही दिनअघि बोर्ड मिटिङ थियो । त्यसमा बफर स्टकबाट वितरण गरौं, किसानले २–४ किलो वा २–४ बोरा भए पनि मल पाउँछन् भन्ने कुरा उठेको थियो,’ केन्द्र प्रमुख बास्तोलाले भने, ‘केन्द्रका अध्यक्षज्यू बाहिर जानु भएको छ उहाँ आएलगत्तै त्यो निर्णय हुन्छ ।

‘बफर स्टकबाट मलखाद वितरण थालेपछि गण्डकीमा करिब ६० टन मेट्रिक टन मल आउने केन्द्रले जनाएको छ । उक्त मल अबको एक हप्ताभित्रै आउने भएकाले किसानलाई केही राहत पुग्ने विश्वास केन्द्रको छ ।

‘किसानले प्रांगारिक मललाई विश्वास गरेनन्’

रासायनिक मल अभावलाई कम गर्न केन्द्रले केही वर्षअघि प्रांगारिक मलको बिक्री वितरणसमेत थालेको थियो । तर, उक्त मललाई किसानले नै विश्वास नगर्दा असफल हुन पुगेको केन्द्रका पोखरा शाखा प्रमुख ठाकुरप्रसाद बास्तोला बताउँछन् । ‘किसानलाई मल भनेकै युरिया भन्ने परेको छ । उनीहरुले डीएपी र पोटासलाई पनि राम्रोसँग चिन्दैनन्,’ बास्तोलाले भने, ‘हामीले ल्याएको कम्पोस्ट मल विश्वासै गरेनन् । जबर्जस्ती वितरण गर्न सकेनौं ।’

केन्द्रले विभिन्न सहकारीमार्फत मलखाद बिक्री वितरण गर्दै आएको छ । किसानलाई राज्यका तीनवटै तहले प्रांगारिक मलबारे बुझाउन नसके बर्सेनि रासायनिक मल अभावको समस्या दोहोरिरहने बास्तोलाको भनाइ छ । ‘राज्यको माथिल्लो तहदेखि तल्लो तहका निकायले नै किसानलाई जागरुक, उत्प्रेरित गराउनुपर्छ । प्रचारमुखी अभियानै चलाउनु पर्छ । नत्र मल भनेकै युरिया भन्ने भइरहन्छ,’ उनले भने ।

यो खबर अनलाईन खबर बाट साभार गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर