केशव गुरुङ :

गोरखामा चितुवाको आक्रमणबाट पशु धनको क्षति हुने क्रम बढेको छ । आर्थिक वर्ष २०७८÷७९ मा चितुवाको आक्रमणबाट सातसय ४१ वटा घरेलु पशुपचौपाया मारिएको मनास्लु संरक्षण क्षेत्र आयोजना सम्पर्क कार्यालय गोरखाले जनाएको छ ।

चितुवाको आक्रमणमा परी क्षति पुगेका ७ सय ४१ पशुचौपाय र तीन जना मानिसलाई गरी ५५ लाख १९ हजार ५५ रुपैया क्षतिपूर्ति बितरण गरिएको कार्यालयका सम्पर्क अधिकृत पशुपति अधिकारीले बताए ।
कति खसी, बोका, गाई, बाच्छाबाच्छी, पाठापाठी मारिए भनेर विवरण छुट्याउन भने बाँकी रहेको उनले बताए । पशुबस्तुसँगै मानिसलाई जंगली जनवारले आक्रमण गरेको खण्डमा पनि क्षतिपूर्ति वितरण गरिन्छ ।

जंगली जनावरले घरपालुवा जनावर तथा बालीनालीमा क्षति पु¥याएबापत क्षतिपूर्ति रकम पाइन्छ भन्ने थाहा पाएसँगै निवेदन दिनेको संख्या बढ्दै गएको उनले बताए । जंगली जनावरले घरेलु पशुचौपाया, जंगली जनवारले बालीनाली र मानिस आक्रमण गरेको खण्डमा क्षतिपूर्ति बापत कार्यालयले रकम उपलब्ध गराउँदै आएको छ ।

कार्यालयले आर्थिक वर्ष ०७६÷०७७ मा ३३ लाख ७५ हजार बितरण गरेको थियो । २०७७÷०७८ मा दोब्बर बढेर ६६ लाख ७८ हजार दुईसय रुपैयाँ क्षतिपूर्ति वितरण गरेको कार्यालय प्रमुख अधिकारीले जानकारी दिए । उनकाअनुसार उक्तवर्षमा चितुवाले ४ सय ३१ वटा बाख्रा, ८७ वटा बोका, ९४ वटा खसी, १३ वटा गाई, ८ वटा गोरु, ८ वटा बाच्छाबाच्छी, ६ वटा पाडापाडी, ५ वटा बंगुर, ९ वटा पाठापाठीलाई आक्रमण गरी मारेको थियो । ४६७ घर परिवारको ६२२ वटा पशु चौपायालाई आक्रमण गरेको थियो ।

जिल्लामा सबैभन्दा बढि गोरखा नगरपालिका क्षेत्रमा चितुवाको आक्रमणमा पशुबस्तु परेका छन् । त्यस्तै गरी भीमसेन थापा गाउँपालिका, शहिद लखन गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका, पालुङटार नगरपालिका र आरुघाट गाउँपालिकामा पशुहरु चितुवाको आक्रमणमा परेका छन् । चितुवाको आक्रमणमा सबै भन्दा बढी बाख्राहरु पर्ने गरेको छ । जंगलमा चराउन लगेको बेला वा घरमा नै खोरमा राखेको बेला पनि चितुवाले आक्रमण गर्ने गरेको सम्पर्क कार्यालयले जनाएको छ ।

संख्यात्मक हिसाबमा घरपालुवा पशुचौपाया चितुवाको आक्रमण धेरै परेको देखिएता पनि क्षतिपूर्ति पाउने बिषयमा धेरै किसानले जानकारी नपाएको र पाएकाहरुले पनि प्रक्रिया झन्झटिलो र डिभिजन वन कार्यालयलले सिफारिस बनाउन ढिला सुस्ती गरेका कारण क्षतिपूर्ति पाउनबाट बञ्चित भएका छन् ।

वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिकाकाअनुसार बाघ, हात्ती, गैंडा, भालु, चितुवा, हिउँचितुवा, ध्वाँसे चितुवा, ब्वाँसो, जंगली कुकुर, जंगली बँदेल, अर्ना, मगर गोही, गौरीगाई र अजिंगर, मानिस, घरपालुवा पशु वा गोठमा क्षति पु¥याएको खण्डमा पिडितले क्षतिपूर्ति पाउने ब्यवस्था गरेको छ ।

पशु धनको क्षति अन्तरर्गत बयस्क भैँसी वा जोत्ने उमेरको राँगो वा गोरु वा उन्नत जातको गाई वा साँढेको मृत्यु भएमा रु ३० हजार, अन्य पशुको लागि बस्तुभाउको प्रकार हेरी प्राप्त कागजात र सिफारिसका आधारमा बढिमा १० हजारसम्म क्षतिपूर्ति दिने गरेको कार्यालयले जनाएको छ । त्यस्तैगरी घर गोठको क्षति भएमा, अन्न बालीको क्षति भएमा, घरमा भण्डारण गरेको राखेको अन्नबालीमा क्षति पु¥याएको खण्डमा बढीमा १० हजार रुपैयाँसम्म क्षतिपूर्ति पाउनेछन् ।

क्षतिपूर्ति पाउन के गर्नुपर्छ ?

बन्यजन्तुबाट घरपालुवा जनावरमा भएको क्षतिको विवरण सबै डिभिजन वन कार्यालयमा आउने र वन डिभिजनबाट मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालयमा एकमुष्ठ रुपमा पठाउने गरेको उनले बताए । क्षतिपूर्ति पाउनका लागि स्थानीयहरुले सम्बन्धित घटनाको फोटो, व्यक्तिगत निवेदन, वडाको सिफारिस, गाउँपालिका पशु चिकित्सकबाट मुल्याङ्नको सिफारिस पत्र, इलाका वन कार्यालयको सिफारिस र सम्बन्धित सामुदायिक वनको सिफारिस चाहिने कार्यालयले जनाएको छ । सबै निवेदन वन कार्यालयले संकलन गर्ने र क्षर्तिपूर्ति वितरणका लागि वनबाट एकमुष्ठमा निवेदनहरु मनास्लु संरक्षण आयोजना कार्यालयमा पठाउने गरेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर