जिल्लाका ११ पालिकामध्य पालुङटार नगरपालिकामा सबैभन्दा धेरै तीन करोड २६ लाख ६० हजार रुपैयाँ बेरुजु भएको छ । महालेखा प्रतिवेदन २०७७/०७८ मा पालुङटार नगरपालिकाको कूल बजेटको १.९० प्रतिशत बजेट बेरुजू गराएको हो ।

प्रचलित कानून विपरीत खर्च गरेर पालुङ्टार नगरपालिकाले धार्चे, सिरानचोक, चुमनुब्री र भीमसेनथापा गाउँपालिकापछि बेरुजुको दरका आधारमा पाँचौँ स्थान कायम गरेको छ ।

गाउँसभा, नगरसभा र जिल्ला समन्वय समितिका पदाधिकारीले अनुगमनको नाममा भत्ता लिने व्यवस्था छ । कर्मचारीले अनुगमन भत्ता लिने व्यवस्था छैन । तर पालुङ्टार नगरपालिका आफैले कर्मचारीले पनि अनुगमन भत्ता लिन पाउने मनोमानी नियम बनाई भत्ता असुल गरेको पाइयो । यसबापट एकलाख ६६ हजार बेरुजु देखिएको छ ।

सो नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणमा पनि अनियमितता भएको महालेखाले औल्याएको छ । पालिकाको वडा नं. १ र ७ का १४ जना लाभग्राहीलाई दोहोरो भुक्तानी गरेको महालेखा प्रतिवेदनमा उल्लेख छ । यसबापत पालिकाको तीनलाख २४ हजार रुपैयाँ बेरुजु भएको छ ।

नगरपालिकाले मिरकोट माविको घेराबार कार्यक्रममा निर्माण सम्पन्न प्रतिवेदनमा उल्लेख भएको भन्दा बढि रकम भुक्तानी गरेको छ । बिजक मूल्य भन्दा बढि दररेट राखेर सिमेण्टको दररेटमा खरिद गरेको महालेखाले औंल्याएको छ । बिभिन्न २३ वटा विकास निर्माणको कार्यक्रममा नगरपालिकाले उपभोक्ताले खरिद गरेको मूल्य भन्दा बढि दर कायम गरी भुक्तानी गरेको पाइन्छ । यसबापट पाँचलाख ५६ हजार बढि भुक्तानी गरेको महालेखा प्रतिवेदनमा उल्लेख छ ।

सार्वजनिक खरिद नियमावलीमा पाँचलाख रुपैयाँसम्मको सामग्री सोझै खरिद गर्न सकिने व्यवस्था छ । सोझै खरिद गर्दा पनि एउटा आपूर्तिकर्तासंग एक आर्थिक बर्षमा एकपटक भन्दा बढि खरिद गर्न नहुने व्यवस्था छ । पाँचलाखदेखि २० लाख सम्मको खरिद गर्दा बोलपत्र आव्हान गर्नुपर्ने व्यवस्था छ । तर सो पालिकाले मसलन्द, प्लास्टिक टनेल, स्टेशनरी, जस्तापाता, पुस्ताक छपाइ जस्ता विभिन्न सामग्री नियमविपरीत प्रतिस्पर्धात्मक विधि नअपनाई सामग्री खरिद गरेको छ । त्यसबाट ४९ लाख १५ हजार रुपैयाँ बेरुजू भएको छ ।

लेनदेन पुष्टि हुने खालको बिल भरपाई बिनै विभिन्न १४ शीर्षकका कार्यक्रममा १४ लाख ९८ हजार भुक्तान दिएको प्रतिवेदनमा उल्लेख छ । उपभोक्ता समितिले नगर्ने काममा पनि उपभोक्ता समिति बनाई २४ लाख रुपैयाँ भुक्तानी दिएको पाइएको महालेखाले औँल्याएको छ । तर उपभोक्ता समिति र लाभग्राही समुदायबाट निर्माण गरिने काममा पनि नियम विपरीत हेभी इक्युप्मेण्ट प्रयोग गरी विभिन्न पाँच योजनामा भुक्तानी गरेको १७ लाख २२ हजार बेरुजु देखाएको छ ।

कम्पनीहरुबाट दररेट माग गरी कम दररेट पेश गर्नेको मूल्य अनुसार सामग्री खरिद गर्नुपर्ने कानूनी व्यवस्था मिचेर पालुङटार नगरपालिकाले खत्रीटार डिपबोरिङ खानेपानी कार्यक्रमका लागि २५ केभीएको टूान्सफर्मर तीनलाख ५० हजार रुपैयाँमा सिधै खरिद गरेको छ । महिला स्वास्थ्य स्वयंसेविकालाई नाक, कान, घाँटी सम्बन्धी आठवटा कक्षा पढाएका प्रशिक्षकलाई ११ वटा कक्षा पढाएको झुठ्ठा विवरण पेश गरी भुक्तानी दिएको तीनहजार छसय रुपैयाँलाई पनि महालेखाले बेरुजु गराएको छ । त्यस्तै विभिन्न तीन शीर्षकमा बिल भरपाई भन्दा बढि रकम भुक्तानी गरेको ३१ हजार रुपैयाँ राजस्व दाखिला गर्नुपर्ने ।

सार्वजनिक खरिद ऐनअनुसार प्रतिस्पर्धा सीमित नहुने गरी गर्नुपर्नेछ, त्यस्तै पाँचदेखि २० लाखसम्मका सामग्री सोझै खरिद गर्न नपाइने ब्यबस्था छ । तर नगरपालिकाको वैकल्पिक उर्जा कार्यक्रम अन्तर्गत सौर्य उर्जा तथा वायो ग्यास कार्यक्रममा पाँचलाख ९४ हजार रुपैयाँका सामग्री सिधै खरिद गरेकाले महालेखाले बेरुजुमा देखाएको छ ।

अमरज्योति मावि रंगरोगन गर्दा प्रचलित प्रतिस्वायर मिटर १८९ रुपैयाँका दरले भुक्तानी दिनुपर्नेमा दर बढाएर दुईसय ९१ का दरले भुक्तानी गरिएको छ । यसो गर्दा बढि भुक्तानी गरिएको एकलाख ६७ हजार रुपैयाँलाई महालेखाले बेरुजु देखाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर