उत्तरी छिमेकी चीनले अनुमति नदिँदा एक वर्षदेखि उपल्लो डोल्पामा चामल ढुवानी हुन नसक्दा सदरमुकाम दुनैमा चामल भए पनि उपल्लो डोल्पामा खाद्यान्न अभाव भएको छ ।
उपल्लो डोल्पामा चामल ढुवानी गर्न चीनको नाका प्रयोग गर्नुपर्छ तर एक वर्षदेखि चीनले नाका प्रयोगका लागि अनुमति नदिँदा ढुवानी गर्न नसकिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डोल्पा प्रमुख कमलराज पाण्डेले बताए।

‘एक वर्षदेखि कत्ति पनि चामल पठाउन सकिएको छैन। त्यहाँको उत्पादनले पुग्दैन, यहाँबाट नपठाउँदा खाद्यान्न अभाव हुन्छ’, उनले भने।

उपल्लो डोल्पाका बासिन्दाका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहरतारा र तिन्जेमा बिक्री केन्द्र राखेको छ।
दुवै डिपोबाट तीन हजार क्विन्टल चामल बिक्री हुँदै आएको छ ।

त्यहीँबाट स्थानीयवासीले खरिद गर्दै आएका थिए तर एक वर्षदेखि भने दुवै बिक्री केन्द्र रित्ता छन्।

गत वर्ष उपल्लो डोल्पाका बासिन्दाले हिँडेरै सदरमुकाम दुनै, जाजरकोट र रुकुम पश्चिम पुगेर चामल लगेका थिए।

यस वर्ष भने कोरोनाका कारण छिमेकी जिल्लाका बजारसम्म पनि आउन नसकेको शे–फोक्सुन्डो गाउँपालिकाका अध्यक्ष टासी तुन्डुप गुरुङले बताए।

‘कोरोनाका कारण आवतजावत रोकिएकाले उपल्लो डोल्पावासी बाहिर निस्किन सकेका छैनन् । सरकारले पनि चामल ढुवानी नगर्दा खाद्यान्न अभाव भएको छ’, उनले भने, ‘धेरै ढिलो भइसक्यो । अब हवाईमार्गबाट ढुवानी गर्नुपर्छ । तत्काल ढुवानी भएन भने उपल्लो डोल्पाका बासिन्दाले भोकै बस्नुपर्ने अवस्था आउँछ ।’

उपल्लो डोल्पाका लागि काठमाडौँबाट सोझै चीन भएर खाद्यान्न ढुवानी गरिँदै आएको थियो ।

कोरोनाका कारण केरुङ नाका बन्द भएपछि उपल्लो डोल्पामा चामल ढुवानी हुन पाएको छैन।

चीनको बाटो भएर डोल्पोबुद्ध गाउँपालिकाको मोरिम्लादेखि तिन्जेसम्म चामल ढुवानी हुने गथ्र्यो ।

त्यहीँबाट अन्यत्र वितरण गर्ने गरिएको भए पनि गत आर्थिक वर्षभर चामल गएको छैन ।

डोल्पोबुद्ध, शे–फोक्सुन्डो र छार्काताङसोङ गरी उपल्लो डोल्पामा तीन स्थानीय तह छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Alert:-The Content Is protected !